‘भुइँ मान्छे’ माथि धनगढीमा समालोचनात्मक छलफल, समाज रूपान्तरणमा योगदान दिने पुस्तकको चर्चा

सोमबार जेठ १३, २०८२/ Monday 05-26-25
Paschim Today

धनगढी — डा. विन्दा पाण्डेयद्वारा लिखित “भुइँ मान्छे” पुस्तकमाथि कैलालीको धनगढीमा समालोचनात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाल बुद्धिजीवी परिषद्, कैलालीको आयोजनामा देव तालिम केन्द्रमा आयोजित कार्यक्रममा पुस्तककी लेखिका पाण्डे स्वयं उपस्थित थिइन्।

कार्यक्रममा उनले पुस्तकको विषयवस्तु, सन्देश, र समसामयिक सन्दर्भहरूमा प्रकाश पारिन्। उपस्थित वक्ताहरूले पुस्तकले नेपाली समाजमा लुकेर रहेका पात्रहरूको जीवन संघर्ष, सामाजिक असमानता र मौन पीडालाई उजागर गरेको धारणा राखे ।

पुस्तक छलफल कार्यक्रममा राष्ट्रिय सभा सदस्य गरिमा शाह, प्रदेशसभा सदस्यहरू धर्मराज पाठक र जानकी कुँवर, नेकपा (एमाले) का सुदूरपश्चिम सचिव रणबहादुर चन्द, पुराना नेता जीवन राई, यज्ञराज बास्तोला लगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, राजनीतिक विश्लेषक र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

वक्ताहरूले “भुइँ मान्छे” ले उठाएका विषयहरू — समाजमा विद्यमान वर्गीय विभाजन, संघर्षशीलता, र समानताको आकांक्षा — विशेष महत्वका भएको भन्दै यस्ता साहित्यिक कृतिहरूले समाज रूपान्तरणमा सशक्त भूमिका खेल्ने उल्लेख गरे।

नेपाल बुद्धिजीवी परिषद्, कैलालीले साहित्यिक चेतना र समसामयिक विचार विमर्शलाई अघि बढाउने अभियान अन्तर्गत यस्ता कार्यक्रमहरू निरन्तर गर्ने जनाएको छ।